घोकन्ते शिक्षा भन्दा सिपमूलक शिक्षामा जोड दिऔँ : पूर्व मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अबको शिक्षा घोकन्ते शिक्षा भन्दा पनि सिपमूलक शिक्षा हुनुपर्ने बताउनुभएको छ । अव को शिक्षा जीवन शैलीसँग जोडेर लैजानुपर्ने भन्दै पूर्व मुख्यमन्त्री चौधरीले घोकन्ते शिक्षा हटाउनु पर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।
“हामी त्यस्तो विद्यार्थी उत्पादन गरौँ जसले देशको सकारात्मक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरोस्” उहाँले भन्नुभयो । पूर्व मुख्यमन्त्री चौधरीले देश सुहाउँदो, नेपालकै माटोमा खेल्न सक्ने, यही माटोमा भिज्न सक्ने जनशक्ति उत्पादन गर्न शिक्षकहरूलाई आग्रह समेत गर्नुभयो ।

‘विद्यालयको भौतिक निर्माणको काम हामी गर्छौ शिक्षकले देशले चाहेको जस्तो जनशक्ति उत्पादन गर्नुपर्छ’ भन्दै पूर्व मुख्यमन्त्री चौधरीले देश छोडेर बाहिरीने होइन देशमै केही गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रमा बिक्न सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डे, नेपाल शिक्षक महासङ्घ दाङका अध्यक्ष युवराज बस्नेत लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक जित बहादुर थापाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक गणेश अधिकारीले गर्नुभएको थियो ।
