२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

च्याउ खेतीप्रति सल्यानमा किसानको आकृर्षण बढ्दै

सल्यान । बजारमा च्याउको माग बढ्दै गएपछि सल्यानका किसान हिजोआज व्यावसायिक च्याउ खेतीमा व्यस्त बनेका छन् ।

नेपालमै उत्पादन भएको च्याउले बजार माग धान्न सकिरहेको छैन । दैनिक करिब एक लाख किलो च्याउ उत्पादन भए पनि माग धान्न नसक्दा वार्षिक १५ देखि २० करोडको आयात हुने गरेको च्याउ उत्पादक किसानहरू बताउँछन् ।

सल्यानको शारदा नगरपालिका–१३ साङ्गारका लालबहादुर नेपालीले १४ वर्षदेखि व्यावसायिक रुपमा च्याउ खेती गर्दै आइरहेको बताउनुभयो ।

सुरु–सुरुमा च्याउ फलाउने र बेच्ने गर्दै आउनुभएका उहाँले हिजोआज आफै च्याउको बीउ उत्पादन गर्दै आउनुभएको   छ ।


अहिले च्याउ र बीउबाट नै वार्षिक २० लाखभन्दा बढीको कारोबार हुने गरेको उहाँले बताउनुभयो । शारदा नगरपालिका–१ श्रीनगरका देवबहादुर बुढाले ५ वर्षदेखि च्याउखेती गर्दै आउनु भएको छ ।

अघिल्लो वर्ष तीन वटा टनेलमा च्याउ खेती गर्नुभएका उहाँले च्याउको माग बढेपछि यस वर्ष ६ वटा टनेल विस्तार गर्नुभएको छ ।

जिल्लाभर कति किसान व्यावसायिक च्याउ खेतीमा आवद्ध छन् भन्ने एकिन तथ्याङ्क कसैसँग छैन । तर १०/१२ जना किसानले च्याउ खेती गर्दै आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

जिल्लामा च्याउ खेतीप्रति किसानको आकृर्षण बढ्दै गएकाले अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको कार्यालय प्रमुख महेश आचार्यले बताउनुभयो ।

जिल्लामा कन्ये र गोब्रे च्याउको खेती गरिँदै आएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस