२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

प्रधानमन्त्री ओली आज कर्णाली प्रदेशमा

दाङ- प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत जाँदैछन्।

प्रधानमन्त्री ओली आज मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनका लागि सुर्खेत जान लागेका हुन्।

उनको बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम तय भएको छ। सुर्खेत विमानस्थलबाट प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन्।

दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डा. लिलाधर तिवारीले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा शुक्रबार बिहान ११:३० बजेटबाट दीक्षान्त समारोहको प्रधानमन्त्रीबाट उद्घाटन हुने बताए।

विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन्। सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको समेत उपस्थिति रहने दीक्षान्त समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा.महेन्द्र पी. लामाको प्रमुख आतिथ्यता रहनेछ।

दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन्। समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ।

प्रदेश सभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन्।

तीन वर्षअघि नै निर्माण सम्पन्न भएर पठन-पाठन भइरहेको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी गरिएको छ।

इन्जिनियरिङ भवनको उद्घाटनपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली प्रदेश रङ्गशालाको निरीक्षण गर्ने कार्यक्रम छ।

आगामी जेठमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता त्यसै रंगशालामा उद्घाटन हुनेछ। त्यसपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम तय भएको स्रोत ले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस