गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुर, २३ फागुन ।
उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहीबार साँझ प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार