बाँकेमा मुर्रा राँगाको वीर्यबाट भैँसीले पाडो जन्मायो
बाँके – बाँकेको खजुरामा सरकारले अघि बढाएको नस्ल सुधार कार्यक्रमअन्तर्गत कृत्रिम गर्भाधानबाट भैँसीले मुर्रा राँगाको वीर्यबाट पाडो जन्माएको छ।खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पाडो जन्माएको हो ।
पशुपालनका माध्यमबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले सरकारले नस्ल सुधार कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले पाडो जन्माएको किसान रेग्मीले जानकारी दिनुभयो । योसँगै उहाँले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने बताउनुभयो । भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो, रेग्मीले भन्नुभयो, स्वस्थ पाडो जन्मिएको छ, भैँसीले दूध पनि राम्रै दिएको छ ।
मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अन्य भैँसीमा नस्ल सुधारमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गएको वर्षदेखि वीर्य सङ्कलन शुरू गरी किसानलाई बिक्री/वितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएको थिए ।
नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा ३ वटा राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये २ बाट वीर्य उत्पादन गरी सङ्कलन तथा किसानलाई वितरणको काम गरिएको छ । खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई नस्ल सुधार कार्यक्रमका लागि उपहार स्वरूप मुर्रा राँगा दिएको थियो । यस प्रयासको सफलतालाई पशुपालनको क्षेत्रमा सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ।