२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, न्याय माग्दै आफन्त द्वारा आन्दोलन

तुलसीपुर – तुलसीपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको मृत्यु भएपछि स्थानीयवासी न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

सल्यान छत्रेश्वरी गाउँपालिका–२ घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा बस्दै आएकी ११ वर्षीया दीपशिखा ओलीलाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाका अनुसार, रा १ त ३२३९ नम्बरको खाली ट्याक्टरले पैदलयात्री दीपशिखालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिए पनि चालक भने दुर्घटनापछि फरार भएका छन्। हाल चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयवासी र पीडित परिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलन थालेका छन्। उनीहरूले चालकलाई तत्काल पक्राउ गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र सवारी सुरक्षा कडा बनाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन्।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो समाचार तयार पार्दा सम्म वालिकाको शब घटनास्थल बाट आफन्तिले उठाउन दिएका छैनन भने रातको समयमा पनि टायर बालेर आन्दोलनमा उत्रिएका छन ।।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस