धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते
कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिलिन्डर विस्फोटमा परेर खड्कासहित ४० वर्षीय स्थानीय ग्यास बिक्रेता गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्। उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।
प्रहरीका अनुसार जोशीको पसलबाट ग्यास लगेकी खड्काले सिलिन्डर जोड्न उनलाई घरमै बोलाएकी थिइन्। जोशीले सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार