अति विपन्न परिवार र स्वास्थ्य स्वयम सेविकालाई विद्युतीय (इन्डक्सन) चुलो सेट
दाङ, २१ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ ले अति विपन्न परिवार र स्वास्थ्य स्वयम सेविकालाई विद्युतीय (इन्डक्सन) चुलो वितरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले चुलो वितरण गरेको हो ।
उक्त चुलो सेटमा वडा कार्यालयको ४८५० (चार हजार आठ सय पचास), बेस संस्थाको २१५० (दुई हजार एक सय पचास) प्रोत्साहन सहयोग र उपभोक्ताको १००० (एक हजार) लगानी रहेको छ ।

वडा अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा चुलो वितरण कार्यक्रम गरिएको थियो । वडा अन्तरगतका स्वास्थ्य स्वयम सेविका १० जना र वडा भित्रका अति विपन्न परिवारका १० गरी जम्मा २० जनालार्ई इन्डक्सन चुलो सेट वितरण गरीएको थियो ।
बाल्ट्राको ड्रिम प्लस चुलो १ थान, बाल्ट्राको ३ लिटरको कुकर १ थान र बाल्ट्राका २४ सेन्टिमिटरको कडाई १ थानको सेट रहेको थियो । चुलो वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष वलीले सुरुवाती चरणमा अति विपन्न परिवार र स्वयम सेविकाहरुलाई छनौट गरिए पनि आउने आर्थिक वर्षमा कार्यक्रमलार्ई अझै विस्तार गरेर लैजाने बताउनुभयो ।

अध्यक्ष वलीले बाह्य देशबाट आयात हुने एल पी जी ग्यासको रकमलाई केही हद सम्म कम गर्न वडाको सधैँ साथ र सहयोग रहने बताउनुभयो । नेपालले वार्षिक ६५ अर्ब बढी रकम ग्यास आयातमा अन्य देशमा पठाउने बताउँदै अध्यक्ष वलीले विद्युत् नेपालमै उत्पादन हुने भएकोले नेपालको विद्युत् नेपालमै खाना पकाउने कार्यमा प्रयोग गरेर एल पी जी ग्यास आयतमा बाह्य देशमा जाने रकम नेपालकै विकासमा प्रयोग गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा अश्वारा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष शिव हरी भण्डारी, बेस संस्था विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम दाङका बजार विकास अधिकृत नर बहादुर चौधरी, क्लीन इनर्र्जी एन्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट सेन्टरका प्रबन्धक ईश्वरी प्रसाद घर्ती लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
चुलो वितरण कार्यक्रममा विद्युतीय चुलोको प्रयोग र सुरक्षा विधिको बारेमा पनि जानकारी दिइएको थियो । वडा सदस्य सुमित्रा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दल बहादुर बस्नेतले गर्नुभएको थियो ।





