२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

दाङमा बाघको छालासहित तीन जना पक्राउ

दाङ, २२ असार । दाङमा वन्यजन्तु बाघको छाला सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरी निवासी, ४१ वर्षीय बिक्रम बुढामगर, र वर्दियाको बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु रहेका छन् ।

अवैध रुपमा बाघको छाला कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका क्षेत्रभित्र बाघको छाला किनबेच भइरहेको गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा २२ गते राति करिब २ बजेतिर गढवा गाउँपालिका–६ खबरी निवासी बिक्रम बुढामगरको घरमा छापा मारिएको थियो ।

सो क्रममा बुढामगरसहित तीन जनालाई बाघको छाला लुकाएर राखिरहेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गरिएको खानतलासीमा बुढामगरको घरको माथिल्लो तलामा रातो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको एक थान पाटे बाघको छाला बरामद गरिएको हो ।

सो छालाको लम्बाइ ९ फिट २ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको छ ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपालमा बाघ लगायत वन्यजन्तुको अवैध कारोबार वन्यजन्तु संरक्षण ऐन अन्तर्गत गम्भीर अपराध मानिन्छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस