दाङमा सर्पको टोकाई बाट बालकको मृत्यु
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा सर्पले डसेपछि २२ महिनाका बालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो करिब ४:१५ बजे नुरज परियारका २२ महिनाका छोरा एनिस परियार आफ्नै घरभित्र खेलिरहेका बेला बायाँ हातमा सर्पले डसेको थियो ।
सर्पले डसेपछि परिवारका सदस्यले बालकलाई तत्काल उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगेको बताइएको छ ।
अस्पताल पुर्याइएपछि पनि उनको अवस्था गम्भीर हुँदै गएको थियो ।
चिकित्सकको टोलीले उनलाई उपचारका क्रममा अपरान्ह ५:२५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पारिवारिक श्रोतका अनुसार घटनाका बेलामा बालककी आमा अनिता परियार च्याउ टिप्न नजिकैको जंगलमा जानुभएको थियो भने बालकको हेरचाह हजुरबुवा श्याम नेपालीले गरिरहनुभएको थियो । बालकको शव हाल राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्पको प्रजाति नखुलेको कारणले पनि उपचारमा चुनौती थपिएको चिकित्सकको भनाइ छ ।