२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

कोइली शाहीको मृत्यु प्रकरण: प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध जाहेरी दर्ता

रुकुम, ३० असार । रुकुम पूर्व सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकारमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको छ।

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा किटानी जाहेरी दर्ता भएको हो। मृतक शाहीका परिवारले खत्रीले पटक–पटक फोनमार्फत मानसिक तनाव दिएको दाबी गरेका छन्। २५ वर्षीया शाही शनिबार बिहान आफ्नै कोठामा मृत फेला परेकी थिइन्। सिस्ने गाउँपालिका–६, खोपिचारकी शाहीको अन्त्येष्टि सम्पन्न भइसकेको छ भने पोष्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। जाहेरी परेपछि पत्रकार खत्री फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस