२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

कैलाली, ५ साउन । विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका–१ चारकठ्ठाका ३२ वर्षीय वीरेन्द्र हमाल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या अभियोगमा पक्राउ गरिएको हो।

पन्तका परिवारले विष खुवाएर हत्या गरिएको आशंकामा प्रहरीमा उजुरी दिएका थिए। शिक्षक पन्त जानकी गाउँपालिका–४ मा रहेको जनता माध्यमिक विद्यालयमा कार्यरत थिए।

शनिबार दिउँसो मुनुवा रोडस्थित लोकल स्टेशन कटेजमा खाजा खाने क्रममा उनी बेहोस भएका थिए। त्यसपछि उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा पन्तलाई विष खुवाइएको शंका पुष्टि भएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस