थारुहरूको संस्कृति सबैले संरक्षण गर्नुपर्छ : पूर्व मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारु समुदायको इतिहास र संस्कृति गौरवशाली रहेको बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा सम्पूर्ण एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बनकट्टामा रहेको भुयाँरथानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै चौधरीले थारुहरूको इतिहास धेरै पुरानो र विशिष्ट रहेको बताउनुभएको थियो । “थारुहरूको इतिहास नेपालको मूल पहिचानसँग गाँसिएको छ । यो जातिको रहनसहन, भेष भूषा, रीतिरिवाज र सांस्कृतिक सम्पदाहरू यति समृद्ध छन् कि यसलाई हामी सबैले गर्वका साथ संरक्षण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
पूर्व मुख्यमन्त्री चौधरीका अनुसार थारु संस्कृति केवल नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट संस्कृतिहरूमध्ये पर्दछ । उहाँले विविधतायुक्त नेपाली समाजमा सबै जातजातिको आ–आफ्नै सांस्कृतिक पहिचान रहेको भन्दै ती सबै संस्कृतिहरूप्रति सम्मान जनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“नेपाल बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक देश हो । हरेक जातिको आफ्नो छुट्टै पहिचान छ । यसमध्ये थारु समुदायको योगदान र पहिचान विशिष्ट छ,” चौधरीले भन्नुभयो, “यसलाई संरक्षण गर्नु कुनै एक जातिको मात्र होइन, सम्पूर्ण नेपाली समाजको साझा जिम्मेवारी हो ।”
चौधरीले सबै नेपालीलाई थारु संस्कृति लगायत देशका सम्पूर्ण जातजातिको सांस्कृतिक धरोहरलाई संरक्षण गर्न आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तह, प्रदेश सरकार तथा सङ्घीय सरकारलाई पनि जातीय–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न सुझाव दिनुभयो ।
भुयाँरथानको उद्घाटनसँगै थारु समुदायको सांस्कृतिक तथा धार्मिक स्थलको महत्त्व अझ उजागर हुने विश्वास व्यक्त गर्दै चौधरीले थारु समुदायका नाचगान, रहनसहन, रीतिरिवाज, खानपान संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।