२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा खैरहनीबाट तरकारी लिएर टाडीतर्फ जाँदै गरेको २–०२–००१ च ०५१० नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई गए राति साढे १२ बजे ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो, तर राति सवा १ बजे चिकित्सकले मृत घोषणा गरे।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बोलेरो जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।

बोलेरो चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस