२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

खोलामा डुबेर एकै घरका दुई बालकको मृत्यु

पर्सा, २७ साउन ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ हनुमाननगरको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्। मंगलबार बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घरबाट करिब १५० मिटर टाढा रहेको ढेडु खोलामा नुहाउन गएका थिए।

खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउन गएका उनीहरू त्यही खाल्डोमै डुबेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, दुवै बालक पानीमा तैरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस