मोदीसँग वार्ता गर्न सैनिक विमानमा बोधगया जाने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ ।
दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौंबाट सिधै सेनाको हेलिकोप्टरमा जाने तयारी भएको हो ।
प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्ता लिएर विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् ।
यता नेपाली सेनाको विमानबाट प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक अनुमति लिने प्रक्रिया पनि सैनिक मुख्यालयले अघि बढाएको छ ।
सेनासँग भिआइपी सवारीको लागि अन्तर्राष्ट्रिय उडान भर्ने एउटा विशेष विमान रहेको छ ।
प्रधानमन्त्री ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक तथा धार्मिक शहर बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता तथा सम्झौताहरू हुने तयारी छ ।
भदौ ३१ देखि असोज २ गतेसम्म प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
