वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, १६ भदौ ।
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये बारा कोल्हवी नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २६ वर्षीय कार्तिक कुमार चौधरीले सर्बिया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ असुलेका थिए ।
त्यस्तै, इलाम नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय मनोज दाहालले रसिया पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको छ ।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चौधरीलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट र दाहाललाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।