२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखिन थाल्यो

दाङ, १३ कार्तिक ।

बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखिन थालेको छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको यस चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ।

वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

उनका अनुसार चक्रवातसँगै कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा मध्यम हिमपात पनि हुन सक्छ। महर्जनका अनुसार यो चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परेको छ।

अर्का मौसमविद् उज्जवल उपाध्यायले बिहीबार बिहानदेखि सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्र मौसम सुधार हुने जानकारी दिए।

उनका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा भएको वर्षा पश्चिमी वायुको प्रभावका कारण भएको हो भने अपरान्हदेखि ‘मोन्था’ आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुनेछ। मौसम विभागले चक्रवातको जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस