२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

दंगीशरणमा अपांगता भएका व्यक्ति सम्मानित

दंगीशरण, १८ मङ्सिर ।

अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दंगीशरण गाउँपालिकाले अपाङ्गता भएका तीन जनालाई सम्मान गरेको छ ।

‘अपाङ्गता समावेशी समाजको प्रवर्धन, सामाजिक उन्नतिको संवर्धन’ भन्ने मुल नाराका साथ गाउँपालिकाले अन्तरक्रिया कार्यक्रमसहित अपाङ्गता भएका व्यक्तिलाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा अपाङ्ता सञ्जाल दंगीशरण अध्यक्ष रोशन गिरी, वडा नं. ३ का लक्ष्मण चौधरी र वडा नं. ४ का बाबुराम चौधरी रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफू निर्वाचित भएपछि अपाङ्गता क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाएको बताए । आर्थिक वर्ष २०८२/०८३ मा अपाङ्ग लक्षित कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले आयआर्जनमूलक कार्यक्रमलाई विशेष प्राथमिकता साथ कार्यान्वयन गरिरहेको बताए ।

गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा गाउँपालिका स्तरीय अपाङ्ग सञ्जाल, महिला सामुदायिक सेवा केन्द्र घोराही र फेयर मेडको समन्वयमा दिवस विभिन्न कार्यक्रमसहित मनाइएको थियो ।
कार्यक्रममा सरोकारवाला, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस