डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबहाक बस दाङ दुर्घटना
दाङ, २५ मंसिर ।
काठमाडौँ जाँदै गरेको बस दाङको लमहिमा दुर्घटना भएको छ। दाङको लमही नगरपालिका–१ कौडियापुलमा बिहान डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। विहीबार बिहान करिब ३ बजेतिर ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए।
बसमा ३८ जना सवार रहेको र घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बिहिवार