सशस्त्र प्रहरीको गोलीबाट युवकको मृत्यु
सुनसरी, १७ पुस । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्।
सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार साह भारतबाट चिनी, सर्फ र सुर्तीजन्य पदार्थ ल्याएर नेपाल फर्कँदै थिए। घर नजिकै पुगेका बेला सशस्त्र प्रहरीले रोक्न खोज्दा गोली प्रहार भएको बताइएको छ।
साहलाई दुई राउण्ड गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्डमा शव राखेर प्रदर्शन सुरु गरेका छन्।
उनीहरूले दोषी सुरक्षाकर्मीमाथि कडा कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण उक्त खण्डमा ठूला सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन्।
“मोटरसाइकल बाहेक अन्य सवारीसाधन चल्न सकेका छैनन्,” उनले भने। प्रदर्शनका क्रममा स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ।
बिहीबार बिहान प्रशासन र स्थानीयबीच वार्ता भए पनि सहमति जुट्न नसक्दा प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयले सामान्य तस्करीको आरोपमा प्राणघातक गोली चलाउनु गैरकानुनी र अमानवीय भएको आरोप लगाएका छन्।
“समातेर कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो, गोली चलाउनुको कुनै औचित्य छैन,” एक प्रदर्शनकारीले बताए। सशस्त्र प्रहरी बलले घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ। तर पीडित पक्षले स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। अवस्था संवेदनशील बन्दै गएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको छ।