२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

दाङमा करेन्ट लागेर दुई जना गम्भीर घाइते

दाङ, २९ पुस ।

दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लाग्दा दुई जना गम्भीर घाइते भएका छन् । निर्माणाधीन घोराही–तुलसीपुर सडक खण्डमा मंगलबार बिहान विद्युतीय पोल स्थानान्तरण गर्ने क्रममा दुर्घटना भएको हो ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित घोराही–तुलसीपुर फोरलेन सडक खण्डमा काम गरिरहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी २० वर्षीय राज साहु र २७ वर्षीय असिम खानलाई करेन्ट लागेको जिल्ला प्रहरीले जनाएको छ ।

करेन्ट लागेर साहुको पेट जलेको छ भने खानको अनुहार, घाँटी, हात र खुट्टामा गम्भीर जलन भएको छ । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको थियो ।

सडक विस्तारको क्रममा विद्युतीय पोल स्थानान्तरण गर्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस