नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब बढी
काठमाण्डौं, ७ माघ ।
नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्ष २०८२-८३ को सुरुमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी बढेर २८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको हो।
सरकारले तिर्न बाँकी रहेको यो ऋण देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४६ प्रतिशत बराबर छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल ऋणमध्ये ५३ प्रतिशत वैदेशिक ऋण र ४७ प्रतिशत आन्तरिक ऋण रहेको छ। रकमका आधारमा वैदेशिक ऋण करिब १४ खर्ब ८७ अर्ब रुपैयाँ र आन्तरिक ऋण करिब १३ खर्ब १९ अर्ब रुपैयाँ छ।
जीडीपीसँग तुलना गर्दा आन्तरिक ऋण २१.६ प्रतिशत र वैदेशिक ऋण २४.३५ प्रतिशत पुगेको छ। सरकारले यो आर्थिक वर्षमा करिब ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ, जसमा पुस मसान्तसम्म २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी उठाइसकेको छ।
यसैबीच, ऋणको साँवा र ब्याज तिर्न पनि ठूलो रकम खर्च भएको छ। सरकारले यसका लागि ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट छुट्याएकोमा पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ।