२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ: बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने

काठमाडौँ ,८ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार उम्मेदवारमाथिको जाँचबुझ प्रक्रिया बुधबार दिउँसो ३ बजेदेखि सुरु भई आज बेलुकी ५ बजेसम्म चल्नेछ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज नै मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ र निर्णय गरी उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।

निर्वाचन कार्यक्रमअनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। शुक्रबार ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ वटा निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम सञ्चालन हुने सहायक प्रवक्ता जिसीले जानकारी दिए।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत तथा ८८ निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार कुल तीन हजार ४८७ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना रहेका छन्।

यसैबीच चार जिल्लाका पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगले जनाएको छ। सुनसरी निर्वाचन क्षेत्र नं। २ का एक, रौतहट निर्वाचन क्षेत्र नं। १ का एक, भक्तपुर निर्वाचन क्षेत्र नं। २ का दुई तथा कैलाली निर्वाचन क्षेत्र नं। १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो।

उक्त उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हाल जाँचबुझ भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस