सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ ,९ माघ ।
स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ९ हजार २०० रुपैयाँले बढ्दै तीन लाख नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँले बढी हो।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर आसपास कारोबार भएको बताइएको छ, जसको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।