जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
बैतडी, २३ माघ ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएर १३ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्।
त्यस्तै, बझाङको केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि उपचारकै क्रममा मृत्यु भएको हो।
मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्।
यसैगरी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै र अन्य ७ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनाग्रस्त बस सडकबाट करिब १ सय मिटर तल खसेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बसमा ४५ जना सवार रहेका थिए।