२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

सरकारी निर्णयविरुद्ध दाङमा पत्रकारहरूको धर्ना

दाङ, २७ जेठ ।

निजी सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा देशव्यापी आन्दोलनअन्तर्गत महासंघ दाङ शाखाको अगुवाइमा जिल्लाका क्रियाशील पत्रकारहरू धर्नामा सहभागी भएका हुन्।

पत्रकारहरूले सरकारको निर्णयले प्रेस स्वतन्त्रता, स्वतन्त्र सञ्चारमाध्यम र नागरिकको सूचना पाउने अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

उनीहरूले सञ्चार क्षेत्र कमजोर पार्ने र निजी मिडियाको अस्तित्वमै चुनौती सिर्जना गर्ने चेतावनीसमेत दिएका छन्। धर्नामा महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकीलगायतको सहभागिता रहेको थियो।

यसैबीच, सरकारको निर्णयविरुद्ध संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस