२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई गम्भीर घाइते

सर्लाही ।

सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेश प्रदेश०३–०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग अर्को दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो ।

दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस