२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामाबीच भेटवार्ता

भैरहवा, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाबीच शनिबार भेटवार्ता भएको छ ।

साउन १६ गते मन्त्रिपरिषद्बारा उपाध्यक्षमा नियुक्त भएपछि बृहत्तर लुम्बिनी क्षेत्रको विकासका विषयमा प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा मुख्यमन्त्री चौधरीसँग उपाध्यक्ष लामाले भेटवार्ता गर्न भएको हेा ।

लुम्बिनीमा करिब एक घण्टाको भेटवार्तामा ४७ वर्षअघि सुरू भएको लुम्बिनी गुरूयोजना कार्यान्वयन र गुरूयोजनाको बाँकी काम पूरा गर्ने सन्दर्भमा छलफल भएको उपाध्यक्ष लामाले बताउनुभयो ।

भेटमा उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।

त्यस्तै लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया– लगायतका क्षेत्रलाई धार्मिक पर्याटकीयस्थलको रूपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा. लामाले भेटमा मुख्यमन्त्री चौधरीलाई जानकारी गराउनुभएको थियो।

भेटमा मुख्यमन्त्री चौधरीले भने यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षणमा तथा व्यवस्थापनमा टेवा पु¥याउनका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

मुख्यमन्त्रीले बुद्ध जन्मस्थल लुम्बिनी नेपालकै गौरव भएकाले यसको विकासमा हातेमालो गरेर अगाडि बढ्ने बताउनुभएको थियो।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस