लुम्बिनी प्रदेश सरकारले निजामती दिवस मनायो
दाङ, २२ भदौ । लुम्बिनी प्रदेश सरकारले निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
‘व्यवसायीक र सिर्जनशील प्रशासन, विकास समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ निजामती दिवस शुक्रबार मनाइएको हो ।
२०६२ सालबाट हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउन थालिएको हो ।
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म यो दिवस मनाइएको छ । दिवसका अवसरमा शुक्रबार बिहान प्रदेश सरकारको परिसरभित्र सरसफाई गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव सुमन घिमिरेले जानकारी दिनुभयो ।
दिवसको अवसर पारेर प्रदेश सरकारले शुक्रबार विभिन्न रचनात्मक तथा सिर्जनशील कार्यक्रम पनि गरेको छ । कार्यक्रममा गित, गजल, कविता, मुक्तक प्रतियोगीता भएको थियो ।
प्रतियोगीतामा ११ जनाको सहभागिता रहेको थियो । जसमा मुख्यमन्त्री कार्यालयका नायवसुब्बा राम बहादुर खड्का प्रथम हुनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका निजामति कर्मचारीको सहभागिता रहेको थियो । साथै बिहीबार लुम्बिनी प्रदेश सरकार प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा लुम्बिनी हलमा रक्तदान गरीएको थियो ।
करीव ३० जनाले रक्तदान गरेको मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत विष्णु घर्तिले जानकारी दिनुभयो ।
प्रदेश सरकारले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयको समन्वयमा बिहिबार मन्त्रालय परिसरमा वृक्षारोपन पनि गरीएको थियो ।
