दुइ बर्षदेखि अटो चढ्ने तर भाडा नतिरेपछि २ महिलाको हत्या
दाङ । दाङको घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको थियो ।
सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढाको हत्या भएको हो ।
प्रहरीले दुवैको हत्या आरोपमा रोल्पाको थवाङ घर भइ घोराही–१७ मा अटो चलाउने टेकबहादुर घर्तीलाई पक्राउ गरिसकेको छ ।
शनिबार दिउँसो सङ्गीता र जुतलीलाई टेकले घरबाट बजार र बजारबाट घर अटोमा लगेर गएका थिए । तर, घर पुगेपछि अटो भाडा माग्दा महिलाहरुले दिन आनाकानी गरेको खुलेको छ ।
जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिका अनुसार दुइ बर्षदेखि संगीता सुनार र जुपली बुढालाई यसरी नै काम पर्दा र घुमफिर गर्न जाँदा घरबाट बजार लैजाने र ल्याउने गर्थे ।
तर, संगीता र जुपलीले टेकबहादुरलाई रिक्सा चढेको पैसा नदिने र टार्दै आएका थिए । तिनै जना बसेर मापसे गरेपछि महिलाहरुले टेकबहादुरलाई केहि गर्न नसक्ने भन्दै धाक धम्कि दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपि केसिले बताए ।
हिजो पनि दुवैले भाडा नदिएपछि आवेगमा आएका टेकबहादुरले घरमै गएर बन्चरो प्रहार गरी उनीहरूको हत्या गरेको एसपी केसीले जानकारी दिए ।
हत्या गरेपछि उनी अटो छोडेर भागेका थिए । तर, उनलाई प्रहरीले तुरुन्तै पक्राउ गरेको थियो ।
मृतक संगीताको परिवार मजदुरी गर्दै आइरहेको थियो भने जुपलीको परिवार अमेरिकामा बस्दै आएको छ ।