२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

घरभित्र ठोक्कियो ट्याक्टर: ५ जना घाइते, चालक र सहचालक फरार

दाङ – आज बेलुका साढे ७ बजे मानपुर नजिकैको एउटा घरमा भएको दुर्घटनामा ट्याक्टरको ठक्करबाट ५ जना घरभित्र खाना खाइरहेका व्यक्तिहरू घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, घाइते हुनेमा तुलसीपुर–१७ मानपुर निवासी ५६ वर्षीय रामकृण चौधरी, उहाँकी छोरी २० वर्षीय प्रिमा चौधरी र २८ वर्षीय शान्ता चौधरी, साथै सोही क्षेत्रका ४२ वर्षीय भक्त बहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता रहेका छन्।

प्रत्यक्षदर्शीको जानकारीअनुसार, विजौरीबाट मानुपरतर्फ जाँदै गरेको लु.प्र. ००२–००१ त ००८५ नम्बरको ट्याक्टर अचानक घरभित्र ठोक्किएपछि दुर्घटना घटेको हो। प्रत्यक्ष दर्शीका अनुसार, चालकको सट्टा सहचालकले ट्याक्टर चलाउँदा अनियन्त्रित भएर घर भित्र प्रवेश गरेको बताइन्छ।

दुर्घटनापछि सहचालक र चालक फरार भएका छन भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ। उक्त घरमा रामकृष्ण चौधरीले नास्ता पसलका रूपमा सञ्चालन गर्दै आएकोमा दुर्घटनाले घरको भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। साथै, स्वास्थ्य सुरक्षाका लागि सबैलाई सिटिस्क्यान गर्नुपर्ने अवस्था रहेको भए पनी तुलसीपुरको सवै ठाउँमा सिटिस्क्यान मेसिन बिग्रिएपछि बाहिर पठाइएको जानकारी प्राप्त भएको छ।

प्रहरीले घटना वारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस