बाल सुधार प्रकरण : ७३ राउन्ड हवाइ फायर,घाइते सबैको डिस्चार्ज
दाङ – जयेन्दु बाल सुधार गृह बाँकेको डडुवा गाउँपालिका–६ हिरिमिनियामा चैत १ गते रातिदेखिको तनाव चैत्र २ शनिबार साँझ देखी बल्ल नियन्त्रणमा आएको छ ।
लामो समय तनावग्रस्त बनेको तनावग्रस्त वातावरण कुनै मानवीय नोक्सानी विना स्थानीय प्रशासन र प्रहरीको निरन्तरको प्रयासपछि स्थिति नियन्त्रण आएको हो । चैत्र १ गते शुक्रबार होली खेल्ने क्रममा भएको विवादपछि तनाव सिर्जना भएको बताइए पनि यकिन कारण भने अझै खुलिनसकेको प्रहरीको भनाइ छ । घटनास्थल गएर स्थिति नियन्त्रणमा लिएका बाँकेका डीएसपी दीपक पातली समेत अनुसन्धानपछि मात्रै कारण खुल्ने बताउँछ्न ।
‘भित्र जान सक्ने स्थिति नै थिएन । बल्ल हाम्रो परिस्थितिलाई नियन्त्रणमा लिएको अब अनुसन्धान गरेपछि मात्रै घटनाको यकिन कारण खुल्ला,’ उनले भने । शुक्रबारको घटनाबारे प्रहरीले केही बताएको छैन । आज शनिबार दिउँसो १ः४५ बजेको समयमा एक्कासी झगडा भएर कुटपिट भएको र दुई जना बालबिज्याइँकर्ता फरार रहेको भन्ने खबर आएपछि प्रहरी टोली खटिएको बाँकेका एसपी कार्कीले जानकारी दिए ।
प्रहरी पुग्दा भने बाल बिज्याइँकर्ताहरूले आफू बस्ने तीन तले भवनको भुईँ तलामा आगो लगाएका थिए । उक्त आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
यता, प्रहरीले सम्झाइ–बुझाइ गर्दा उल्टै उनीहरू आक्रोशित भएर भवनको पर्खाल भत्काएर प्रहरीलाई इँटाले प्रहार गरेका थिए । उनीहरूको प्रहारबाट चार प्रहरी घाइते भएका छन् ।
स्थिति नियन्त्रणका लागि आफैं घटनास्थलमा खटिएको एसपी कार्की बताउँछन् । एसपी कार्कीको कमान्डमा, लुम्बिनी प्रदेशको सशस्त्र प्रहरी गण, खजुराबाट इन्सपेक्टरको कमान्डमा गरी ३ सय प्रहरी परिचालन भएको थियो ।
यसका लागि सशस्त्र प्रहरीको ३० नम्बर गण हेडक्वाटर बागेश्वरीबाट सशस्त्र एसपी शोभाकान्त खनालको कमान्डमा एक सय जना गरी ३ सय सुरक्षाकर्मी खटिएर स्थितिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ७३ राउण्ड हवाइ फायर गर्नुपरेको थियो । इन्सास राइफलबाट ५८ राउन्ड, एसएलआरबाट ४ राउन्ड, सर्टगनबाट १ राउन्ड र ग्यास गनबाट १९ राउन्ड गरी ७३ राउन्ड हवाइ फायर गर्दै सम्झाइ–बुझाइ गरेर बाल सुधार गृहभित्र छिर्न सफल भइएको बाँकेका एक सुरक्षा अधिकृतले बताए ।