२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

दाङ – आज देशका विभिन्न पाँच वटा प्रदेशमा आज दिउँसोपछि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको असर देखिएको मौसमविद्हरूले बताएका छन्। यसैबीच, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदलीको अवस्था रहन सक्नेछ।

यसैगरी, कर्णालीका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा आज बिहान मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ। ती क्षेत्रका थोरै ठाउँमा दिउँसो पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूको भनाइ छ। हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस