२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

जाजरकोट, ७ साउन । गए राति जाजरकोटमा निर्माण कार्यमा संलग्न टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

जाजरकोटको नलगाड नगरपालिका अन्तर्गतको दल्लीबाट रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो।

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरू सबैको अवस्था अहिलेसम्म अज्ञात छ।

घटनापछि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ। तर भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म बेपत्ता व्यक्तिहरूको नाम र ठेगाना खुल्न सकेको छैन। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस