छात्रामाथि दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
काठमाडौं, २० भदौ ।
बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शिक्षक यादवमाथि शिक्षालयका चार जना छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ । अभिभावकसहित छात्राले दिएको जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।
यादवले रातिको समयमा फोन गरेर कहिले परीक्षामा पास गराइदिने प्रलोभन देखाउने, कहिले अभद्र धाकधम्की दिने जस्ता गतिविधिबाट छात्रालाई मानसिक यातना दिएको आरोप छ ।
यससम्बन्धी अडियो रेकर्ड समेत फेला परेको प्रहरीले जनाएको छ । निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहताले अभिभावकसहित आएका चार छात्राले उजुरी दिएका कारण घटनाबारे थाहा पाएको बताउँदै शिक्षालय प्रशासनले तत्काल सम्बन्धित निकायलाई जानकारी गराएको जानकारी दिए ।
२०७७ सालदेखि करारमा कार्यरत महोत्तरीको सोनमा गाउँपालिका स्थायी घर भएका यादवलाई यसअघि सोही शिक्षालयमा तीन छात्राले सामूहिक विष सेवन गरेको घटनासँग पनि जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ पुस १५ गते विष सेवन गरेका छात्रामध्ये एक जनाको शव माईस्थान जंगलमा फेला परेको थियो । पक्राउ परेका यादवलाई महोत्तरी जिल्ला अदालतको आदेशमा सात दिनको म्याद थप गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।