२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच वटा रिट दायर

काठमाडौँ, २८ असोज।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मियासहित पाँच जनाले रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ। साथै असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न र ती निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरू दर्ता भएका हुन्। असोज २६ गते बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आजदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो।

यसअघि, भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो। उक्त आगलागीमा परि अदालतमा रहेका करिब ८० प्रतिशत मुद्दाका मिसिल जलेका जनाइएको छ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस