२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

हातमा गुलाब लिदै फर्किए निर्वाचन आयोगबाट “विप्लव”

काठमाडौ, २ मंसिर ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

पार्टीले गुलाब चुनाव चिह्नको रूपमा पाएको छ। दल दर्तापछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले आफ्नो पार्टी अब नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान लिएर निर्वाचनमा जान तयार भएको बताए।

उनका अनुसार दल दर्ताले नयाँ चरणको सुरुवात गरेको छ। उनले भने, “दल दर्तासँगै नयाँ अभियान सुरु भयो। भोलिबाट देशभरि नयाँ अभियानमा अघि बढ्छौं। पार्टी पंक्ति र नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं।”

जनतालाई परिवर्तनको प्रमुख शक्ति बताउँदै उनले थपे, “आज पनि जनतामा, भोलि पनि जनतामा। जनताले जस बाटोबाट परिवर्तन सम्भव देख्छन्, हामी तयार छौं।” चुनावबारे प्रश्न गर्दा विप्लवले चुनाव अपरिहार्य हुने बताएका छन।

उनले भने, “चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ नै।” राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दललाई समेटेर चुनावतर्फ लैजाने र नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्षमा आफ्नो दल रहेकाले उनले स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस