२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

दाङको यातायात कार्यालयको बायोमेट्रिक भवनमा लुटपाट

दाङ, तुलसीपुर – यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरस्थित नयाँ लाइसेन्स बायोमेट्रिक भवनमा गएराति अज्ञात समूहले ढोका फोडी लुटपाट गरेको छ।

घटनापछि सरकारी कार्यालयको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

कार्यालयको पूर्वतर्फको पर्खाल करिब डेढ वर्षअघि बाटो निर्माणको क्रममा भत्काइएको भए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन।

पर्खाल नहुँदा भवन खुला अवस्थामा रहँदै आएको थियो, जसका कारण लुटपाटको जोखिम बढेको स्थानीय कर्मचारीहरू बताउँछन्।

नाम नबताउने सर्तमा एक कर्मचारीले पर्खाल निर्माणमा राजनीतिक दबाब रहेको दाबी गरेका छन्। उनका अनुसार पर्खाल भत्काउने बेलामा पछि पुनःनिर्माण गरिदिने सर्त गरिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन।

स्थानीय स्रोतका अनुसार उक्त पर्खाल एमालेबाट निर्वाचित तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाध्यक्ष दुजमान भण्डारीको पहलमा भत्काइएको बताइन्छ। यद्यपि यस विषयमा वडाध्यक्ष भण्डारीको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ भने कार्यालय प्रशासनले सुरक्षा व्यवस्था थप गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस