२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने गृह मन्त्रालयको चेतावनी

दाङ,१३ माघ।

नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न सबैमा आग्रह गरेको छ। राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने चेतावनी पनि गृह मन्त्रालयले दिएको छ।

गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको स्मरण गराउँदै राष्ट्रिय झण्डाको आकार, प्रयोग विधि, फहराउने तरिका तथा निषेधित कार्यहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ।

सो कार्यविधि बमोजिम प्रमुख जिल्ला अधिकारीलाई आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डाको प्रयोगबारे नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ। विज्ञप्तिमा राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन नपाइने स्पष्ट गरिएको छ।

झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, पोको पार्ने, व्यापारिक वा विज्ञापन प्रयोजनमा प्रयोग गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। त्यस्तै, राष्ट्रिय झण्डाको प्रतीक शरीरमा प्रयोग गर्दा कम्मरभन्दा माथिल्लो भाग बाहेक अन्यत्र प्रयोग गर्न, चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न तथा छातीभन्दा तल लगाइने भित्री वा बाहिरी कपडामा झण्डाको चित्र राख्नसमेत निषेध गरिएको छ।

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने व्यवस्था रहेको पनि स्पष्ट गरेको छ।

दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो वा र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने भए पनि त्यसबाहेक अन्य अवस्थामा प्रयोग गर्न नहुने व्यवस्था रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस