धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी
विराटनगर, २७ फागुन ।
धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।
आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । प्रहरीका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ ।
प्रहरीका अनुसार को १ ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।
को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।
आगलागीको कारण अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन ।
बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ ‘सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।’