२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

जेन–जी पुस्ताको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयद्धारा अनुमति

काठमाडौँ, २२ भदौ ।

‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको र आवश्यक सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए।

उनका अनुसार, प्रदर्शनका आयोजक युवाहरूले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र भद्र हुने प्रतिबद्धता जनाएका छन्। प्रजिअ रिजालले भने, “उनीहरूले भद्र तरिकाले प्रस्तुत हुन्छौं, कुनै नाराबाजी वा तोडफोड हुँदैन, टिसर्ट लगाएर शान्तिपूर्ण प्रदर्शन मात्रै गर्छौं भन्नुभएको छ।”

‘वेक अप नेपाल क्याम्पेन’ का संयोजक सबल गौतम र पुरुषोत्तम यादवले प्रशासनलाई पत्र लेख्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।

पत्रमा उल्लेख छ, “स्वतन्त्र युवाहरूको सहभागिता रहने भएकाले कार्यक्रम सुव्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले सहकार्य आवश्यक छ।”

सरकारले दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि जेन–जी पुस्ताले भ्रष्टाचार र सरकारी निर्णय दुवैको विरोधमा सडकमा उत्रिने घोषणा गरेका थिए। प्रजिअ रिजालले प्रदर्शनलाई शान्तिपूर्ण राख्न पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने बताए।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस