मनाङमा पनि उपनिर्वाचन कात्तिक १७ गते हुने
काठमाडौँ, २० भदौ । हिमाली जिल्ला मनाङमा समेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ९२० का लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनको कार्यतालिका तय गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा पनि त्यही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
रुपन्देहीमा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि र मनाङमा निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) आपराधिक मुद्दामा जेल परेपछि दुवै स्थान रिक्त बनेका हुन् ।
मनाङ उपनिर्वाचनको कार्यतालिकाअनुसार २०८२ साल भदौ १३ गतेदेखि निर्वाचन अवधि सुरु भएको निमित्त प्रमुख निर्वाचन अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।
विसं २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा प्रदेशसभा ९२० तर्फ गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असोज २५ गते अन्तिम नामावली प्रकाशनसहित चुनाव चिन्ह वितरण गर्ने, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी तोक्ने तालिका सार्वजनिक गरेको छ ।
त्यस्तै, २०८२ साल भदौ २५ गते आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावली नै यस उपनिर्वाचनमा प्रयोग गरिने भएको छ ।
यसअनुसार आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गरिएको छ। गत निर्वाचनमा मनाङ जिल्लामा ६ हजार ७७९ मतदाता रहेका थिए ।
कुल मतदातामध्ये ४ हजार ८४५ अर्थात् ७१।४७ प्रतिशत मत खसेको थियो । मनाङ–२ प्रदेशसभा क्षेत्रमा मात्रै ४ हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।