दल दर्ताको होडबाजी ‘आफ्नै खाल्डो आफैं खन्ने काम’हो: मन्त्री पुन
काठमाडौ, १ मंसिर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ताको चाप बढ्दो छ। आयोगका अनुसार हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता हुने प्रक्रियामा रहेका छन्।
राजनीतिक रूपले विभाजित र बारम्बार फुट्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै वर्तमान जेनजी सरकारका शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।
मन्त्री पुनले दलहरूको विभाजन र दर्ताको होडलाई “आफ्नै खाल्डो आफैं खन्ने कार्य” भन्दै आलोचना गरेका छन्। उनका अनुसार फुटेर होइन, मिलेर र जुटेर मात्र शक्ति निर्माण हुन्छ, तर नेपालमा सानोतिनो कुरामा नमिल्ने र दल दर्ता गर्ने प्रतिस्पर्धाले राजनीतिक अस्थिरता थप गहिरिने खतरा छ।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्, “यस्तो प्रवृत्ति रहिरहे भ्रष्टाचारमा जरा गाडेका पुराना बृद्ध नेताहरू र तिनैका आसेपासेहरूको शासन फेरि फर्किन्छ। जेनजी आन्दोलनका लक्ष्यहरू कमजोर बन्न सक्छन् र अहिलेको मन्त्री मण्डलले गरेका सकारात्मक काम–निर्णयहरू समेत उल्ट्याइने सम्भावना बलियो हुन्छ।”
उनले निर्वाचन आयोगमा बढ्दो दल दर्तालाई लोकतान्त्रिक अभ्यासको नाममा अवसरवादी फुट–प्रवृत्तिको पुनरावृत्ति भन्दै आक्रोश प्रकट गरेका छन्। सामाजिक सञ्जालमा उनको पोस्ट सार्वजनिक भएपछि युवादेखि राजनीतिक विश्लेषकहरूसम्म विभिन्न प्रतिक्रिया आएका छन्।
निर्वाचन नजिकिँदै गर्दा दलहरूको संख्या झनै बढ्ने अनुमान गरिँदैछ। आयोगले भने कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गर्ने जुनसुकै समूहलाई दर्ता दिने तयारी जारी राखेको बताएको छ।