माघ महोत्सवको तयारी तिब्र पारिदै
दाङ । दाङको तुलसीपुरमा हुन लागेको माघ महोत्सवको तयारी तिब्र पारिएको छ । थारु कल्याणकारीणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३, नमुना भुह्यार थानको संयुक्त आयोजना तथा महटावा महासंघ तुलसीपुरको सहआयोजनामा थारु समुदायको संस्कृति, रितिरिवाज, परम्परा संरक्षण र सम्बद्र्धनका लागि थारु माघ महोत्सव हुदै छ ।
माघ महोत्सवका लागि पुसको २२ गतेसम्म नाच दर्ता गर्न सकिने भएको छ ।
थारु कल्याणकारिणी क्षेत्र नम्बर ३ र नमुना भूइँह्यार थानको शनिबार बसेको संयुक्त बैठकले पुस २२ गतेसम्म नाच दर्ता गर्ने, नाच प्रतियोगिता मध्येबाट उत्कृष्ट नाच छनौट गर्ने, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने लगायतका निर्णय गरेको थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस २२ गतेपछि दर्ता भएका नाचलाई प्रगियोगितामा समावेश गरिने छैन् । यस्तै थारु पत्रकार, महटाँवा, सामाजिक व्यक्तित्वमध्ये एक–एक जनालाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
थारु समुदायको संस्कृति, रितिरिवाज, परम्परा संरक्षण र सम्बद्र्धनका लागि थारु कल्याणकारिणी दाङ क्षेत्र नम्बर ३ र नमुना भुइँह्यार थान जबरपुरको संयुक्त आयोजनामा हुने माघ महोत्सवमा २३ गते साँझ ढुमरु गीत गाउने र २४ गते सांस्कृतिक कार्यक्रम हुनेछ । सांस्कृतिक कार्यक्रम नमुना भुइँह्यार थान जबरपुरको प्राङ्गणमा हुने थारु कल्याणकारीणि दाङ देउखुरी क्षेत्र नम्वर ३ का सचिव जितेन्द्र चौधरीले जनाउनु भएको हो ।