२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

आज हरितालिका तीज: सांस्कृतिक मौलिकताको पर्व

दाङ, २९ भदौ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर देवादिदेव महादेव र माता पार्वतीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि काठमाडौँको ऐतिहासिक पशुपतिनाथ मन्दिरका साथै देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको बाक्लो उपस्थिति रहेको छ।

​तीजको धार्मिक इतिहास सत्ययुगमा हिमालयपुत्री पार्वतीको कठोर तपस्यासँग जोडिन्छ। पार्वतीले श्री महादेवलाई पतिका रूपमा पाउने इच्छा राखेकी थिइन्, तर पिता हिमालयले उनको इच्छा विपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजे।

यो समस्या बुझेपछि पार्वतीका साथीहरूले उनलाई हरण गरेर ९लुकाएर० एकान्त जङ्गलमा पुर्‍याइदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले बालुवाको लिङ्ग बनाई निराहार व्रत बसिन् र महादेवलाई प्राप्त गरिन्। संस्कृत भाषाका दुई शब्द ‘हरित’ ९हरण गरिएको० र ‘आलिका’ ९साथी० मिलेर ‘हरितालिका’ शब्द बनेको हो, जसको अर्थ साथीहरूद्वारा हरण गरिएकी पार्वतीले शिवजीलाई पाउन निष्ठापूर्वक गरेको व्रत भन्ने बुझिन्छ।

​तीज पर्व केवल एक दिनमा सीमित नरहेर चार दिनसम्म विभिन्न विधिअनुसार मनाइने गरिन्छ। द्वितीयाका दिन व्रतको पूर्वतयारीस्वरूप व्रतालुहरूले मीठा र अडिला परिकार ‘दर’का रूपमा खान्छन्, जहाँ माइती र दाजुभाइले छोरी(चेलीलाई घरमा बोलाई सम्मानपूर्वक दर खुवाउने गर्छन्।

मुख्य दिन तृतीयाका दिन महिलाहरू बिहानै स्नान गरी रातो, हरियो वा पहेंलो पहिरनमा सजिएर शिव मन्दिर पुग्छन् र दिनभर व्रत, पूजा(आराधना गरी रातभर जागा बसेर लोकगीत र नृत्यमा रमाउँछन्। यसपछि चतुर्थीका दिन विघ्नहर्ता भगवान् गणेशको पूजा गरी व्रतको पारण गरिन्छ भने अन्तिम दिन ऋषिपञ्चमीमा महिलाहरूले दतिवनले स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि चारदिने पर्वको औपचारिक समापन हुन्छ।

​धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तीजको व्रतलाई कुनै एउटा साँगुरो दायरामा खुम्च्याउनु हुँदैन। शारीरिक क्षमताअनुसार निराहार, जलाहार वा फलाहार गरी तीनै प्रकारले व्रत बस्न सकिने शास्त्रीय विधान छ। यो व्रत केवल श्रीमान्‌को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति, अविवाहितका लागि सुयोग्य वर(वधु प्राप्ति र सम्पूर्ण परिवारको कल्याणका लागि बसिन्छ।

महिलाले परिवारको प्रतिनिधित्व गरी व्रत बस्ने भए पनि अशक्त अवस्थामा वा महिला रजस्वला भएका बेला पुरुषले समेत व्रत बस्ने परम्परा छ। त्यसैले तीजको वास्तविक सौन्दर्य महँगो फेसन र तडक(भडकमा नभई दिदीबहिनीबिचको आत्मीयता, दुःख(सुखको साटासाट र मौलिक परम्पराको जगेर्नामा निहित छ।

​परम्परागत रूपमा तीजलाई चेलीहरूले वर्षभरि माइतीबाट टाढा रहँदा भोगेका दुःख, घर समाजको हेपाई र घरव्यवहारका कष्ट पोख्ने पर्वका रूपमा पनि लिइन्छ। असार(साउनको हिलो(मैलो र खेतबारीको कडा काम सकेपछि माइत आएका चेलीहरूले गीतका भाकामार्फत आफ्ना आँसु र पीडा सार्वजनिक गर्थे। यस अर्थमा तीज केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाली महिलाहरूको मानसिक दबाब र मर्म पोख्ने एउटा खुला सांगीतिक चौतारी पनि हो। पछिल्लो समय तीजका गीतहरूमा केवल घरायसी दुख मात्र नभई सामाजिक विभेद, अधिकार र महिला सशक्तीकरणका विषयहरू पनि सशक्त रूपमा उठ्न थालेका छन्।

​तर, पछिल्ला वर्षहरूमा तीजको यो मर्म र मौलिकतामाथि देखावटीपन हाबी हुँदै गएको छ। महिना दिन अघिदेखि नै होटेल तथा पार्टी प्यालेसमा भड्किला ‘दर’ कार्यक्रम आयोजना गर्ने र बहुमूल्य गरगहना तथा महँगा फेसनको प्रदर्शन गर्ने प्रवृत्ति व्यापक बनेको छ। यस्तो चटकिलो र भड्किलो संस्कृतिले समाजमा आर्थिक असमानता बढाएको छ भने विपन्न तथा मध्यमवर्गीय परिवारका महिलाहरूमा मानसिक तनाव र हीनभावना पैदा गराएको छ। मौलिक लोकभाका र मादलको ताल हराउँदै उच्छृङ्खल गीत र डिजेले प्रश्रय पाउँदा तीजको सात्त्विक र पवित्र भावना नै कमजोर बन्न पुगेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस