विश्वचर्चित खेलाडी एनपीएल ३ माः काठमाडौं गोर्खाजले भित्र्यायो वार्नर
अष्ट्रेलियन सुपरस्टार डेभिड वार्नर नेपाल प्रिमियर लिगमा जोडिएका छन् । क्रिकेटको महाशक्ति राष्ट्रका ओपनरलाई काठमाडौं गोर्खाजले खरिद गरेको छ
काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विश्वचर्चित हाइप्रोफाइल खेलाडी जोडिएका छन् ।
अष्ट्रेलियन सुपरस्टार डेभिड वार्नर नेपाल प्रिमियर लिगमा जोडिएका छन् । क्रिकेटको महाशक्ति राष्ट्रका ओपनरलाई काठमाडौं गोर्खाजले खरिद गरेको फ्रेन्चाइजले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ ।
वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला नाम हुन् । यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले क्रमश कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन् ।
टि २० क्रिकेटमा वार्नर उनीहरुभन्दा पनि माथिल्लो श्रेणीका खेलाडी मानिन्छन् ।
काठमाडौं गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै वार्नरलाई स्वागत गरेको छ ।
फ्रेन्चाइजले यसअघि वार्नरलाई अनुबन्धित गर्ने थुप्रै संकेत दिए पनि आधिकारिक जानकारी गराएको थिएन ।
आज सार्वजनिक भिडियोमा वार्नर नेपाल आउन उत्साहित रहेको र काठमाडौं गोर्खाजमा अनुबन्धित भएको जनाएका छन् ।
उनले भनेका छन् – “यो समय धेरै मानिसका लागि निकै कठिन रहँदै आएको छ ।
यस्तो अवस्थामा एनपीएलले केही खुसी ल्याउन र मानिसहरूलाई एकजुट भएर साथ दिन एउटा माध्यम बन्न सकोस् भन्ने मेरो आशा छ ।
एनपीएल र यसका समर्थकहरूको जोश र उत्साहबारे मैले धेरै सुनेको छु । अब आफैंले त्यो अनुभव गर्न म निकै उत्साहित छु । तपाईंहरू सबैलाई भेट्न म आतुर रहेको बताएका छन् ।