तुलसीपुर खानेपानीको निर्वाचन आज, तीन प्यानलबीच प्रतिस्पर्धा
तुलसीपुर– तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ। उपभोक्ताहरूको हितमा काम गर्ने सक्षम नेतृत्व चयन गर्न उपमहानगरपालिकाको अरनीको मैदानमा मतदान प्रक्रिया बिहान ७:३० बजेदेखि सुरु भई दिउँसो ४:३० बजेसम्म सञ्चालन हुनेछ।
संस्थाको नेतृत्वका लागि यसपटक तीनवटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका तर्फबाट वर्तमान अध्यक्ष यमकान्त भण्डारी पुनः अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट पूर्व सचिव मनोज लामिछाने अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट निवर्तमान उपाध्यक्ष सिताराम शर्मा आचार्य नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको छ।
संस्थाका उपभोक्ताहरूले यो निर्वाचनलाई विशेष चासोका साथ हेरिरहेका छन्। उनीहरूको प्रमुख सरोकार भनेको खानेपानी सेवाको गुणस्तर सुधार, संस्थाको पारदर्शिता, तथा सेवा प्रवाहको सुलभता हो।
निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु हुनेछ ।