२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

शिक्षक आन्दोलनमा सहभागीलाई नेपाल शिक्षक महासंघ दाङद्वारा धन्यवाद,चैत ५ पछि थप आन्दोलनका कार्यक्रम

दाङ – नेपाल शिक्षक महासंघ दाङको शनिबार घोराहीमा आयोजित बैठकमा काठमाडौंमा फागुन २४ गते सम्पन्न भएको शिक्षक आन्दोलनमा सहभागी शिक्षकहरूलाई औपचारिक रूपमा धन्यवाद ज्ञापन गरेको छ। महासंघका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा वसेको बैठकले शिक्षक आन्दोलनमा उठेका मुद्दाहरू र यसको व्यवस्थापनका बारेमा विस्तृत छलफल गरेपछि, आगामी दिनहरूमा आन्दोलनलाई अझ प्रभावकारी बनाउनका लागि केही निर्णायक कदम चाल्ने तयारी गरेको हो।

बैठकमा भनिएको अनुसार, दाङ जिल्लालाई देउखुरी, घोराही र तुलसीपुरका तीन क्षेत्रमा विभाजन गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूसँग मिलेर आन्दोलनको व्यवस्थापन र दिशा निर्धारण वारे छलफल ५ गतेपछि सुरु गरिनेछ। यसैक्रममा, फागुन २४ गते काठमाडौंमा भएको आन्दोलनमा दाङ वाट उपस्थित ३०० शिक्षकहरूको सक्रिय सहभागिता र योगदानलाई उच्च सम्मान प्रदान गरिएको छ।

सम्पूर्ण शिक्षकहरूको साझा मेहनत र आस्थालाई मध्यनजर गर्दै, आन्दोलन खर्च व्यवस्थापनका लागि गत वर्ष योगदान नगरेका शिक्षकहरूले २ दिनको तलब बराबर रकम र योगदान गरिसकेका शिक्षकहरूले १ दिनको तलब बराबर रकम संकलन गर्ने निर्णय पारित गरिएको हो। साथै संघीय तलबभोगी शिक्षक तथा कर्मचारीबाट पनि अनिवार्य रूपमा आर्थिक सहयोग लिने व्यवस्था बनाइने भएको बताइएको छ। संकलित रकमको पारदर्शी हिसाब राखी स्थानीय पालिका र सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने कुरामा विशेष जोड दिइएको छ।

बैठकमा चर्चा भएको अर्को महत्वपूर्ण बिषय भनेको विद्यालय परिसरमा बढ्दो अराजक गतिविधि र हिंसात्मक घटनासँग सम्बन्धित छ। शुभप्रभात मावि, घोराही–१४ का प्रधानाध्यापकमाथि भएको आक्रमण लगायतका घटनाहरूलाई रोकथाम गर्ने र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन स्थानीय सरकार र सुरक्षा निकायहरूलाई तत्काल कारबाही गर्ने चेतावनी समेत महासंघले दिएको छ।

यसका साथै, आन्दोलनलाई प्रेरित गर्ने गीत, सङ्गीत, कथा र कविता मार्फत शिक्षकहरूले योगदान पुर्याएका सृजनशील प्रयासहरूलाई पनि विशेष सराहना गरिएको छ। महासंघका अधिकारीहरूले शिक्षकहरूको हकहित सुनिश्चित गर्दै आन्दोलनलाई अझ प्रबल बनाउन आगामी दिनहरूमा थप ठोस कार्य योजना कार्यान्वयन गर्ने जनाइरहेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस