चैत तेस्रो सातामा संसदको हिउँदे अधिवेशन अन्त्य हुने।
काठमाडौं – सरकार संसदको हिउँदे अधिवेशन चैत तेस्रो सातासम्म अन्त्य गर्ने तयारीमा रहेको छ। सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले सोभन्दा अघि नै अधिवेशन अन्त्य गर्ने योजना बनाइएको हो।
आईपीयू सम्मेलन अप्रिल ५ देखि ९ तारिखसम्म, अर्थात् चैत २३ देखि २७ गतेसम्म, हुने कार्यक्रम रहेको छ। सोही कारण सरकारले चैत २० गतेभित्र हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ। संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो।
यसअघि, सरकारले छ वटा अध्यादेश जारी गरेको थियो। तिनमध्ये भूमिसम्बन्धी बाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत कानुन संशोधन प्रक्रिया अघि बढाइएको छ। सभामुख विदेश जानुअघि नै यी विधेयक संघीय संसदका दुवै सदनबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गराउने तयारी भइरहेको छ। सम्भवत: चैत १८ गतेभित्र प्रमाणीकरण गरिसक्ने योजना रहेको छ।
संघीय संसद सचिवालयका अनुसार हाल १२ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ, जसअन्तर्गत बजेट पेश हुनु एक महिना अगाडि प्रि-बजेट छलफल गरिनेछ।
नियमअनुसार, एक अधिवेशन सकिएपछि अर्को अधिवेशन सुरु गर्न कम्तीमा १५ दिनको अन्तराल आवश्यक पर्ने भएकाले चैत तेस्रो सातामै हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।